जनकपुरधाममा फेरि रेल आउँदै

काठमाडौं । ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ। असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो।

सो रेलमा १४ डिब्बा थिए। त्यति बेला भारतको राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए। प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए।

रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बिर कोरिएका थिए। रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो।

सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६:३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए।

झाका अनुसार यहाँ आउन लागेको सो रेलमा यात्रा गर्ने धार्मिक यात्रुको बुकिङ भइरहेको छ। बुकिङ पूरा भइसकेपछि मात्र यात्रु सङ्ख्या यकिन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *