देशमा रेल चलाउने केपी ओलीको सपना पूरा : आजबाट जयनगर–कुर्था रेल्वे संचालनमा

काठमाडौं । तत्कालीन ओली सरकारले सुरु गरेको रेल परियोजनाले सार्थकता पाएको छ। जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको थियो ।

उद्घाटन भएसगै आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने जनाइएको छ।

स्रोतका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ ।
जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको जनाइएको छ ।
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको जनाइएको छ ।

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको स्रोतले बतायो ।
सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने जनाइएको छ ।
यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।
दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले उद्घाटन गरिने तयारी गरिदा गरिदै परमादेशबाट ओली सरकारलाई हटाइएको थियो। उक्त सरकार हटेपछि रेल संचालन सम्बन्धि कानुन र व्यवस्थापनमा वर्तमान सरकारले ढिला गरेपछि उद्घाटनको काम लम्बिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *