कानुन अभावले रेल सञ्चालनमा ढिलाइ

काठमाडौं । झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ । रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभाव सिर्जना भएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेका कारण विधेयक प्रक्रिया पनि अघि बढ्न सकेन । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले पुनः अध्यादेश ल्याएपछि अब भने रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको छ ।

रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अब चाँडै उद्घाटन मिति तय गरेर औपचारिक रूपमा रेल सञ्चालनमा ल्याउने बताएका छन् । ‘रेल सञ्चालन गर्ने तयारी भइरहेको बेला कानुनको अभाव सिर्जना भयो, कानुन नै थिएन, फेरि अध्यादेश जारी भएकाले अब चाँडै उद्घाटन गर्छौं,’ उनले भने ।

गत १ फागुनयता हर्न बजाउँदै दिनहुँ नेपाली रेल रित्तै जनकपुर हुँदै कुर्था पुगेर फर्किने गरेको थियो । उद्घाटनको प्रतीक्षामा यसरी दिनहुँ कुद्ने रेल आजभोलि भने दिन बिराएर कुदाउन थालिएको छ । ‘आजभोलि दिन बिराएर ड्राइ रन हुँदै आएको छ, कति ठाउँमा ढुंगा सम्याउनुपर्ने भएकाले रेल रन हुँदा सम्भव नभएकाले दिन बिराएर रन हुने गरेको छ,’ झाले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *