रेल चलाउने तयारी

काठमाडौं ! धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।

आउँदाे महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका १ सीता चोकमा रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । जनकपुरधामसहित ठाउँ–ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

‘रेल्वे लिगमै हाटबजार लगाउँदै आएका छन्, जसका कारण हामीलाई रेल सञ्चालनको तयारीमा समस्या भइरहेको छ’, महाप्रबन्धक झाले भन्नुभयो, ‘हाटबजार रेल्वे लिगबाट अन्यत्र सार्ने विषयमा यहाँका जनप्रतिनिधि, व्यापारी र स्थानीयवासीसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजीसमेत भइरहेको छ ।’ हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *