काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभएको हो ।
उहाँले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गर्नुभएको छ ।
अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता यही जेठ १९ गतेदेखि सुरु भएको छ । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल जेठ २२ गते राति ९:१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।