माघी पर्व विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको पहिचान : राष्ट्रपति भण्डारी

काठमाडौं ! राष्ट्रपति विद्यादेवी भण्डारीले माघी पर्व तथा माघे संक्रान्ति विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको पहिचान बनाएको बताउनु भएको छ । माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिंदै उहाँले त्यस्तो बताउनु भएको हो । “आजको दिन पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानगरी मन्दिरमा पूजाअर्चना गरेपश्चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ” उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ।

विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । हाम्रा पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न योगदान गरेको विश्वास छ ।

“माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु” सन्देशमा भनिएको छ ।

माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेषगरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईबासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वको रूपमा मनाउने गर्दछन् राष्ट्रपति भण्डारीले भन्नू भएको छ ।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएकी छु” सन्देशमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *