स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी जनशक्ति तयार गर्नु विद्यमान चुनौती : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा बिस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालहरुको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पार्नुभएको छ ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उहाँले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउन समेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार गर्नु मुलुकको सामू विद्यमान ठूलो चुनौती हो । स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा बिस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । नेपाल सरकारमा सम्वद्ध संस्थाहरुले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।’

उहाँले थप्नुभयो, ‘अस्पतालको सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउनका लागि आवश्यक व्यवस्थापकीय एवम प्राविधिक सुधार गर्दै गुणस्तरीय सेवा प्रदान गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्दै कठिन परिस्थितिमा समेत कर्तव्यनिष्ठ भई निरन्तर रुपमा बिरामीको सेवामा समर्पित अस्पतलमा कार्यरत सम्पूर्ण डाक्टरहरु, नर्सहरु, स्वास्थ्यकर्मी एवम कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

राष्ट्रपति भण्डारीले कोभिडको कठिन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरुसहितका स्वाथ्यकर्मीहरुको पनि प्रशंसा गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *