नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज चितवन जानूहुँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार चितवन जाँदै हुनुहुन्छ। नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन जान लाग्नु भएको हो। नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो।

सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो। राष्ट्रपति भण्डारी चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो।

उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ। सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ।’ एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ।
औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताउनु भयो। उहाँले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिनुभयो। सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *