प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

काठमाडौं ! प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुने भएको छ।

संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ।

समितिले श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग बिहान १०:३० बजे छलफल गरेपछि श्रेष्ठसँग ११:३० बजे छलफल गर्ने गरी समय निर्धारण गरेको छ।

समितिको आइतबार बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरूसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको हाे।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुईवटा र पत्रमार्फत् एउटा उजुरी परेका छन्। इमेलबाट उजुरी दिएका सम्पर्कमा नआएकाले पत्रमार्फत् उजुरी दिएका एकजना उजुरीकर्तासँग मात्रै छलफल गर्ने समितिको तयारी छ।

संसदीय सुनुवाइ समितिबाट श्रेष्ठको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। कामु प्रधानन्यायाधीशको रूपमा श्रेष्ठले साउन २१ गतेबाट न्यायपालिकाको नेतृत्व गरिरहेका छन्।

उनीविरुद्ध साउन २३ गते १० दिनको समय राखेर उजुरी आह्वान गरिएको थियो। यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन्।

साउन १८ गते सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

संवैधानिक परिषद्ले गरेको ढिलाइका कारण श्रेष्ठले केही समय कामु प्रधानन्यायाधीशको रूपमा न्यायपालिकाको नेतृत्व सम्हाल्नुपरेको हो।

२०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेसँगै न्यायपालिका कामुप्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आइरहेको छ। जबरा निलम्बनमा परेपछि न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *