लुम्बिनी प्रदेश स्थापनाको ६ वर्ष पूरा

दाङ ! लुम्बिनी प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको छ ।
लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस वर्ष दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको हो ।

जस अनुसार आइतबार लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ । औपचारीक रुपमा दिवस मनाउन सरकारले सबै तयारी गरेको छ ।

प्रदेश सरकारले स्थापना दिवसको दिन आइतबार प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

प्रदेश स्ताथापनाको यो अवधिमा प्रदेश सभाबाट ऐन निर्माण गर्नेदेखि सरकारले जन सरोकारको पक्षमा काम गरिरहेको जनाएको छ । तर, संघीयतालाई बलियो बनाउनेगरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् ।

अहिलेसम्म प्रदेशले चार जना मुख्यमन्त्री र अन्य मन्त्री, सांसदहरु उत्पादन गरिसकेको छ । पहिलो पाँच वर्षे कार्यकाल प्रदेश संरचनाको जग बसाल्न समय विताएको र दोस्रो कार्यकालमा संघीय शासन व्यवस्था अन्तर्रगत प्रदेशको औचित्य पुष्टी गर्नेगरी काम गर्नुपर्ने जिम्मेवारी प्रदेश तहसंग छ ।

मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले प्रदेशको औचित्य पुष्टी गर्नेगरी प्रदेश सरकार जनताको घरदैलोमा पुग्न आफुले रोड म्याप तयार पारेको बताउछन् ।‘अब हामी सानो सानो बाटोको कुरा गर्दैनौं । हामी आर्थिक करिडोरको कुरा गरिरहेका छौं । जहाँ उत्पादन हुन्छ बाटो त्यही पुग्छ’उनले भने,‘हामीले टुरिजमको कुरा गरेका छौं । जहाँ टुरिष्ट आउछन् त्यहाँ बाटो पुर्याउछौं । रणनीति नै चेन्ज गरेर हामी लागी परेका छौं ।’

प्रदेश सभाको पहिलो कार्यकालमा कानुन निर्माणलाई ध्यान दिएको थियो । जहाँ पाँच वर्षे कार्यकालमा प्रदेश सभाबाट ७२ वटा ऐन बने । तर, यसरी बनेका कतिपय ऐनहरु कार्यान्वयमा छैनन् । दोस्रो कार्यकालको एक वर्षको अवधिमा दुईवटा अधिवेसन पूरा भए । ३५ वटा बैठकमा ५७ घण्टा ३३ मिनेट छलफल भयो तर, प्रदेशसभाले एउटा मूल विधेयक मात्रै बनाउन सक्यो ।

प्रदेशसभाको कामलाई प्रभावकारी बनाउन सभामुख तुलाराम घर्ती मगरले आफ्नो तर्फबाट सबैखाले प्रयासहरु गर्दै आएको बताउछन् ।‘प्रदेश सभालाई सहमतीबाट अघि बढाउने काममा मेरो ध्यान छ । सबै दलहरुको विचमा समझदारी कायम गरेर अघि बढाउन सकेका छौं’उनले भने,‘यो छ बर्ष संघियता कार्यान्वयनको लागी हामीले खेलेको भूमिका अनुकरणीय छ । अझ सबैलाई साथ लिएर अघि बढ्नुपर्ने जिम्मेवारी छ ।’