सुदुरपश्चिम प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन सँगै समाजवादीमा चुलियो विवाद : निस्कासित मन्त्रीले भने-यो राम्रो भएन

धनगढी ! सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित तीन जना सहभागी भएका छन् । कांग्रेस संसदीय दलका नेता रहेका रणबहादुर रावल, गोविन्द बोहरा मन्त्री भएका छन् भने टेकबहादुर रैका राज्यमन्त्री नियुक्त भएका छन् । छोटो समयमै सरकारबाट बाहिरिनु परेकोमा नेकपा (एकीकृत समाजवादी)का सांसदहरुमा भने पार्टी नेतृत्वप्रति असन्तुष्टि देखिएको छ ।

रावल आन्तरिक मामिला तथा कानुन, बोहरा सामाजिक विकास र रैका सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन् । यी मन्त्रालयमा यसअघि एकीकृत समाजवादीका मन्त्रीहरुको नेतृत्व थियो ।
यस्तै एकीकृत समाजवादीले अन्य मन्त्रीहरु पनि हेरफेर गरेको छ । संसदीय दलका नेता दीर्घ सोडारीबाहेक सबैलाई फेरबदल भएका छन् । सो पार्टीले आर्थिक मामिला मन्त्री रहेका तारा लामा तामाङलाई फिर्ता बोलाएर प्रकाश रावललाई पठाएको छ । यस्तै आर्थिक मामिला राज्यमन्त्री माया तामाङको ठाउँमा अमर साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा रहेकी चुनकुमारी चौधरीको ठाउँमा कुलवीर चौधरीलाई पठाइएको छ । निर्वाचन आचारसंहिता सुरु हुने भएकाले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शुक्रबार राति प्रदेशले शपथ ग्रहण गराएका छन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी, आर्थिक मामिलामन्त्रीमा तारा लामा तामाङ, सामाजिक विकास मन्त्री लालबहादुर खड्का थिए । एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेकोमा फिर्ता बोलाइएकाहरुमा भने ब्यापक असन्तुष्टि देखिएको छ । आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङले आफूहरुमाथि व्यापक अन्याय भएको बताउँदै आक्रोश ब्यक्त गरेका छन् । ‘धेरै पूर्वाग्रह राखेर निर्णय भयो, यो राम्रो होइन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *