बागमती प्रदेशको बजेट बहुमतले पारित

काठमाडौं ! बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट बहुमतले पारित गरेको छ ।

बागमती प्रदेशसभा बैठकले बिहीबार राति अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट छुट्याइको बताएका छन् ।जसअनुसार चालूतर्फ २६ अर्ब १० करोड १६ लाख, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँको विनियोजन गरिएको छ ।

बजेट पारित हुनु अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल राप्रपाले बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

गत असार ७ गते सांसदहरूले उठाएका सवालमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला मन्त्री थपलियाले बिहीबार जवाफ दिएपछि बजेट पारित भएको हो ।प्रदेशसभा बैठकले खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत गरेको छ ।