कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान : एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी पेश गर्दै

काठमाडौं ! कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधबार संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनको लागि खापुङले तीन दिनकाे  समय दिएका  छन् । प्रदेशसभामा बहुमत जुटाउन सक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए ।

नयाँ सरकार गठनको आह्वान गर्न बुधबार नै प्रदेश प्रमुखसमक्ष एमाले र माओवादीले आग्रह गरेको थियो । जसअनुसार प्रदेश प्रमुख खापुङले बेलैमा सरकार गठनको आह्वान गरेको भए बुधबार नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारीमा एमाले–माओवादी थिए । तर, अब बिहीबार मात्र दावी पेश हुने भएको छ ।

मुख्यमन्त्रीको रुपमा गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्कीको दाबी पेश हुने बताइएको छ ।

null