कोशी प्रदेशमा बहुमत सदस्यसहित एमाले नेता हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दावी पेश

काठमाडौ ! कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र आज संयुक्तरुपमा बुझाएका छन् ।
प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु  बुझाउनुभएको हो ।
प्रदेश प्रमुख खापुङलाई उहाँहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार पत्र बुझाउनुभयो ।
प्रदेश प्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानुन सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आह्वान गर्ने बताउनुभयो ।
विपक्षी दलहरुले विशेष अधिवेशन आव्हान गरिसकेपछि कोशी प्रदेश सरकारले आउदो २०८१ जेठ ११ गते नियमित अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष निवेदन दर्ता गराएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफ्नो सरकार गठन भएकाले सरकार पनि नछाड्ने र विश्वासको मत पनि नलिने कोशी प्रदेश सरकारले बताउदै आएको छ । संविधानको मुल्य मान्यताको पालना र संघियता कार्यान्वयनका लागि अल्पमतमा परिसकेपछि मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने राजनैतिक विश्लेषक प्रा. कृष्ण पोखरेल बताउनु हुन्छ ।