लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठनको यस्तो छ तयारी

लुम्बिनी- लुम्बिनीमा नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया थालिएको हो ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागी आह्वान गर्ने र त्यो समय भित्र दलहरुले बहुमत पुर्‍याएर दावी पेश गर्नेछन् । लुम्बिनीमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठनको प्रक्रिया सुरु भएको हो ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्राब्धान अनुसार माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्त गर्न बहुमत सदस्य ४४ जनाले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुख समक्ष बुझाइने माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारुले बताउनु भयो । विहान १० बजे प्रदेश प्रमुख समक्ष पुग्ने दलहरुको योजना छ ।

सरकार बनाउन सहयोग गर्नेलाई मन्त्री

लुम्बिनी प्रदेशमा बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ । नयाँ राजनीतिक समिकरणको आधारमा सरकार बनाउन समर्थन गर्ने जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरुको विचमा लिखित सहमती भएको खुलेको छ । जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सम्मको सहमती भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म पुर्‍याउने र बाँकी रहेका दलहरुलाई पनि सरकारमा सहभागी गराउने जोड देखिन्छ । एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिनेगरी तयारी गरेको बताइएको छ ।