मुख्यमन्त्री कार्कीले सहमतिविपरीत काम गरेपछि कोशी सरकारबाट एमाले बहिरियो

काठमाडौं ! कोशी प्रदेश सरकारका विना विभागीय मन्त्री राम राना मगरले राजीनामा दिएका छन्।

नेकपा एमाले कोसी प्रदेश संसदीय दलका उपनेतासमेत रहेका रानाले शनिबार राजीनामा दिएका हुन्।

शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सरकारमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई समावेश गरेसँगै एमाले सरकारबाट बाहिरिएको थियो।

गत असोज २७ गतेबाट विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका मगरले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएका हुन्।

नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारलाई दिएको समर्थन फिर्तासँगै विना विभागीय मन्त्रीले राजीनामा दिएको बताए।

उनले भने, ‘हामी माओवादीसहित गठन भएको सरकारमा रहेका छैनौं। यसर्थमा उहाँले राजीनामा दिनु भएको हो। यो हाम्रो चाहना भने होइन।’

प्रदेशमा सहज ढंगबाट सरकार अघि बढाउन एमालेले कांग्रेसलाई साथ दिएको बताउँदै भण्डारीले भने, ‘यो हाम्रो चाहना होइन। कांग्रेसले हाम्रो समर्थनको मूल्यांकन गर्न सकेन। अब मध्यावधि नै फेस गर्नुपर्ने देखिएको छ। त्यसका लागि हामी तयार रहेका छौं। उहाँहरूले चाहेको यही रहेछ।’