बागमती प्रदेशमा मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट दुई मन्त्रीले लिए शपथ

काठमाडौं ! बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्मकट्टेलले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धन टुटफुटको कारण दुईपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतबार दुई मन्त्री नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तिर्थ लामा मन्त्री बनेका छन् । मन्त्रीद्वयले प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारमा कांग्रेसको नेतृत्व गर्दै बहादुरसिं आर्थिक मामिला तथा योजनामन्त्री र  तिर्थ लामा खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री बनेका छन् ।

कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएपछि दलका नेता लामालाई नेता व्यवस्थापनमा चुनौती थियो । उनले पहिलो चरणमा आफूसहित दुई जना मात्रै सरकारमा जाने निर्णय गरेका हुन् । भागवण्डाअनुसार कांग्रेसबाट थप ३ जना मन्त्री हुनेछन् । ११ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसले ५, मुख्यमन्त्रीसहित माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने भएका छन् । कांग्रेसले यसअघि ६ वटा मन्त्रालयमा अडान नछाडेकै कारण सरकार विस्तार हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *