नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिममा सभामुख चयन अस्वीकृत

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उनको समर्थकमा पृथ्वीबहादुर सिंह हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) की जानकी ऐर बमले राख्नुभएको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको छ ।

उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल थिइन् ।

शनिबारको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित थिइन् । नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बस्नुभएको थियो । सभामुखको भूमिकामा रहनुभएका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिइनन् ।

सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ ।

यसअघि बिहीबार बसेको बैठकमा भएको सभामुख निर्वाचनसम्बन्धी दुई प्रस्ताव पनि आवश्यक बहुमत नपुग्दा अस्वीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *