एमाले स्थायी कमिटी सदस्य अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरूङले संविधानको धारा १६८ को उपधारा  (२) बमोजिम गण्डकी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेता अधिकारीले नेकपा (एमाले) सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्नुभएको थियो ।
गण्डकी प्रदेशमा ६० प्रदेश सभा सदस्य रहेका छन् । त्यसमध्ये अधिकारीलाई नेकपा (एमाले) का २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद गरी ३३ जनाको समर्थन रहेको छ ।
उहाँ कास्की निर्वाचन क्षेत्र नं. १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यस अघि २०७४ सालको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित अधिकारी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा केही समय गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने  संविधान सभाको दोस्रो कार्यकालमा स्वास्थ्यमन्त्री बन्नुभएको थियो । उहाँ पार्टीको संगठन विभाग प्रमुख हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *