कर्णाली प्रदेश सरकार गठन गर्न ७ दिनको दलहरुलाई आह्वान

वीरेन्द्रनगर । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् ।

बिहीबार एक बिज्ञप्ति जारी गर्दै प्रमुख परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेसम्ममा सरकारको दाबी गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको आह्वान गरेको बिज्ञप्तिमा जनाइएको छ ।

कर्णाली प्रदेशमा कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न सकेका छैनन् । सो कारण अब सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरु मिलेको अवस्थामा मात्रै सरकार गठनका लागि आवश्यक सांसद पुग्ने छ ।

त्यस कारण कर्णालीमा पनि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुनेछ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । उसको जम्मा १४ जना सांसद रहेका छन् । त्यस्तै दोस्रो माओवादीको केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक एकजना छन् ।

कर्णालीमा प्रदेश सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *