बागमती प्रदेशमा सोमबारभित्र मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान

हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका दावी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।

शर्माले विहीबार संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन्।

उनले मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्क्री नियुक्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । बागमतीमा ७ वटा दलको प्रतिनिधित्व रहेको छ। केन्द्रमा बनेको नयाँ समिकरणअनुसार बागमती प्रदेशमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राप्रपा मिलेर सरकार बनाउने अवस्था छ।

प्रदेशसभामा एमालेको २७, माओवादीको २१ र राप्रपाको १३ सांसद छन्। यी ३ दलको मत जोड्दा ६१ हुन्छ।

जुन सरकार गठनको लागि बहुमत हो। सत्ता गठबन्धनबाहिर रहेको नेपाली कांग्रेससँग ३७,समाजवादीसँग् ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *