प्रधानमन्त्री भन्नुहुन्छ : राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउनै पर्छ भनेर लिखित निर्णय भएको छैन

काठमाडौं ! प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने बिषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताउनुभएको छ ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताउनुभएको हो ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सक्ने आफुले केही समयअघि बताएपनि अहिले घटनाक्रमहरु भिन्न तरिकाले अघि बढेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्तामा एक किसिमको असन्तुष्टि बढेको धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षताको कुरा र जनयुद्धको भएका टिप्पणीहरुले केही आशंका उत्पन्न भएको प्रधानमन्त्रीको भनाइ थियो ।

अर्को एक फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थल विस्तार गर्नका लागि संघीय सरकारबाट प्रक्रियागत सबै निर्णय भइसकेको जानकारी दिनुभयो ।।