प्रधानमन्त्री दाहालले गल्ति स्विकार्दै भने : पशुपतिमा जलहरी राख्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको हो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिको जलहरीसम्बन्धी विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जोड्नु उचित नहुने बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले पशुपतिमा जलहरी राख्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको रहेको हुँदा ओलीलाई जोड्नु नहुने बताएका हुन्।

‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ। यसमा सरकारको सहयोग  रहनेछ,’ उनले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार विमर्श हुनु उचित होइन।’

जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी अनुसन्धान भइरहेको उनले बताए।

शुक्रबारको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको बताएका थिए। दाहालको उक्त अभिव्यक्तिपछि एमालेले संसद् अवरुद्ध पारेको थियो। प्रधानमन्त्रीको प्रष्टीकरणसँगै संसद् सुचारु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *