मन्त्री फेरबदलमै बिते प्रचण्डका साढे चार महिना

काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ ।

प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गरे भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गरे । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिए । उनले १० औं पटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गरे । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ९ जना मन्त्री भएका छन् भने गठबन्धनका बाँकी दलहरूबाट १४ जना मन्त्री भएका छन् । १० औंपटक मन्त्रिपरिषद् विस्तार हुँदासमेत सरकारले पूर्णता भने पाउन सकेको छैन । वन तथा वातावरण मन्त्रालय अझै प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।

नेपाली कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन तोडेर पुष १० मा नेकपा एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १० मा पुनः गठबन्धन परिवर्तन गरे । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिनामै उक्त गठबन्धन भत्काउँदै फेरि कांग्रेससहित आठ दलको समर्थन जुटाएर दोस्रोपटक संसदबाट विश्वासको मत हासिल गरेसँगै एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिर बस्न बाध्य भएका थिए ।
यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *