प्रधानमन्त्री प्रचण्डलाई प्रवासी नेपाली सङ्घ भारतले बुझायो ज्ञापनपत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रवासी नेपाली सङ्घ भारत केन्द्रीय समितिले ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई आज केन्द्रीय समितिको तर्फबाट नेकपा (एमाले)का भारत प्रवास इञ्चार्ज हरिप्रसाद घिमिरे र प्रवास नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीले विभिन्न माग राखी १२ बुँदे ज्ञापनपत्र बुझाका हुन्।

ज्ञापनपत्रमा उनीहरूले मातृभूमिमा हुने निर्वाचनमा प्रवासी नेपालीले भएको देशबाटै नै मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै नेपाल–भारतबीच खुला सिमानाका कारण दुवै देशका नागरिकको आगमन अभिलेख राख्न, प्रवासी नेपाली घर विदामा स्वदेश फर्कंदा नेपाल–भारत दुवै देशका सीमा सुरक्षाकर्मीद्वारा गरिने जाँचका नाममा गरिने दुव्र्यवहार अविलम्ब रोक्न, भारतबाट पाउने पेन्सन नेपालभित्र लिन सकिने व्यवस्था गर्न, प्रवासी आयोग वा कुनै संयन्त्र बनाउनसमेत माग गरिएको छ ।

यस्तै नेपाल–भारतबीच गरिएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका अन्य सन्धिको पुनरावलोकन गर्नुपर्ने, मुलुकको विकास र समृद्धिमा प्रवासी नेपालीलाई पनि सहभागी बनाउन सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्ने, भारत प्रवासमा कार्यरत रहेका प्रवासी नेपालीका उच्च शिक्षा हासिल गरेका सन्तानलाई लोकसेवा आयोगमा प्रवासी नेपाली आरक्षण कोटाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको छ ।

ज्ञापनपत्रमा नेपालको खुला सिमानालाई दुरुपयोग गर्दै वैदेशिक रोजगारका नाममा नेपाली युवायुवतीलाई भारतको बाटो हुँदै विभिन्न मुलुकमा अवैधानिक तवरले पठाउने कार्य रोक्न र गिरोहलाई कारवाही गर्नसमेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *