काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि उनले निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार पहिलो पटक सरकारको कामकारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग छलफल गरेका थिए । सचिवहरुका कार्यविवरण सुनिसकेपछि उनले आज आवश्यक निर्देशन दिन लागेका हुन् ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए ।
त्यस्तै प्रधानमन्त्रीमा नियुक्त भएको भालिपल्ट प्रचण्डले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।
खासगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र लगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने विषयलाई प्रधानमन्त्रीले जोड दिएका छन् ।
सोही विषयको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका थिए । अझै केही सचिव र विभागका प्रमुखले आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।
बाँकी रहेका सचिव र विभागको विवरण आज प्रस्तुत हुने र लगत्तै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको बताइएको छ ।