निगगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गर्नुभएको छ। आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुग्नुभएका प्रधानमन्त्रीले सो विमानस्थल समुद्घाटन गर्नुभएको हो। समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्प्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो।

प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’ ‘आजको जमाना कनेक्टिभिटिको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ’ उहाँले भन्नुभयो। ‘सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको छु। मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यो तेस्रो अन्तरार्ष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेकाे छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौं। हामी विकासलाई तीव्रता दिएर अघि बढ्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *