अध्यक्ष प्रचण्ड भन्छन् : संसदीय दलको नेता चुनिएपछि मात्र सरकारबारे छलफल गरिन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरूले संसदीय दलको नेता चयन गरेपछि मात्र सरकार गठनबारे छलफल हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेस गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गरे । त्यसपछि मात्र सरकार गठनबारे छलफल हुने उनले बताए ।

“अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरूको लिस्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ,” उनले भने ।

प्रचण्ड आफैँ सरकारको नेतृत्वका लागि इच्छुक छन् । सत्ता गठबन्धनमा आबद्ध सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकारको नेतृत्वका लागि स्वभाविक दाबेदार हुन् ।

कांग्रेसभित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *