वाईसीएल भेलामा प्रचण्ड : पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई चुनाव विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । शुक्रबार वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले पहिलो संविधानसभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन हुन वाईसीएललाई निर्देशन दिएका हुन् ।

पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा वाईसीएलको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, ‘विस्तृत शान्ति सम्झौतापछि जनआन्दोलन र जनयुद्धको बलमा जुन शक्ति प्राप्त भयो । पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा पनि वाईसीएलको भूमिका निकै महत्वपूर्ण करिब–करिब निर्णायक भयो ।’

उनले थपे, ‘पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ । चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ ।’

यसका साथै अध्यक्ष दाहालले क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । त्यसोत, पहिलो संविधानसभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । तर, अन्य राजनीतिक दलहरुले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *