करोडौं पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो भयो : अध्यक्ष प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताउनु भएको छ ।

आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावबाट पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताउनुभएको हाे ।

उहाँले पालिकाको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै सङ्घ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब रुपैयाँभन्दा माथि हुने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र सङ्घको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवी जनताले अब क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो ।’

अध्यक्ष प्रचण्डले अहिलेको चुनाव प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताउनु भयो । उहाँले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिले सांसद हुन करोडौँ खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताउनु भयो ।

उहाँले भ्रष्टाचार संस्थागत हुने कारण चुनाव प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गर्नुभयो । यसबारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार रहेको उहाँकाे दाबी छ।

प्रचण्डले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गर्नु भएकाे छ । उहाँले  परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भूमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *