प्रचण्डमाथि ‘राष्ट्रघात’को आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र एमसिसी सम्झौताको बचाउ गरेका छन्। दाहालले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा लामो व्याख्यासहित एमसिसीको बचाउ गरेका हुन् । सत्ता गठबन्धन जोगाउन पनि एमसिसीको पक्षमा उभिनुपरेको दाहालको भनाइ छ। बैठकमा दाहालले व्याख्यात्मक टिप्पणीको प्रतिरक्षा गरे पनि नेताहरूले भने लिखित रुपमै त्यसमा असहमति राखेका छन्।

बैठकमा केन्द्रीय सदस्यहरू कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै लिखित असहमति राखेका छन्। नेता नारायणकाजी श्रेष्ठले मौखिक रुपमा असहमति राखेका छन्। उनीहरूले एमसिसी अनुमोदन प्रक्रियामा सहभागी भएर पार्टीले राष्ट्रघात गरेको र त्यसको प्रमुख दोषी अध्यक्ष दाहाल भएको आरोप लगाएका छन्। अध्यक्ष दाहालले एमसिसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयबारे निकै लामो व्याख्या गरे पनि नेताहरूले उनलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै ढंगले राष्ट्रघाती भएको आरोप लगाएका छन्।

बैठकमा नेता श्रेष्ठले एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसको प्रमुख दोषी कोको भन्नेबारे लामो व्याख्या गरेका थिए। त्यस्तै नेताहरू महरा, गुरुङ, लीलामणि र गिरिराजमणिले पनि एमसिसी अनुमोदनको मुख्य मतियार अध्यक्ष दाहाल भएको र यसले पार्टी, देश र जनतालाई घात भएको बताएका थिए। ‘असन्तुष्ट नेताहरूले अध्यक्षकै कारण एमसिसी अनुमोदन भएको र यसको सम्पूर्ण जिम्मेवारी उनले नै लिनुपर्ने धारणा राखेका छन्,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। ती सदस्यका अनुसार बैठकमा एमसिसीबारे लामै छलफल भयो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *