आलु उत्पादन बढ्यो

रुकुम पूर्व-  आलु उत्पादन बढ्यो । रुकुम पूर्वमा यस वर्ष आलु राम्रो उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु धेरै फलेको हो । जिल्लाको भूमे र सिस्ने गाउँपालिकाको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै आलु खेती गर्ने गरेका छन् । यहाँका किसानको बर्खा यामको मुख्य बाली उत्पादन मकै, आलु र सिमी रहेको छ ।

पालिकामा समूहमार्फत व्यावसायिक आलु उत्पादनमा लागेका अर्ग्यानिक कृषि तथा पशुपन्छी पालन समूह पुथाउत्तरङ्गा १० तकका किसानहरूलाई बजार तथा भण्डारणको चिन्ता लागेको छ । एकीकृत कृषि तथा पशुपन्छी इकाई र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत समूहले १० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु उत्पादन गरेको समूहका सचिव जुनकुमारी बुढामगरले जानकारी दिनुभयो ।

थबाङ्गी स्थानीय र जनकदेव जातका करिब १२ हजार क्विन्टल बीउ लगाइएको थियो । आलु खन्ने क्रम जारी रहेकाले गाउँभर करिब दुई सय मेट्रिक टन सम्म आलु उत्पादन हुने अनुमान गरिएको कृषक समूहका सचिव बुढामगरले बताउनुभयो । एक हेक्टरमा २० देखि २५ मेट्रिक टन आलु उत्पादन हुने आकलन गरिएको छ । आलु खन्ने क्रम जारी रहेकाले अहिले नै ठ्याक्कै यकिन भन्न नसकिने अवस्था रहेको छ । पहिलो पटक सामूहिक आलु खेती गरेर राम्रो आलु फलाए पनि किसानहरू खासै हर्षित देखिँदैनन् । नजिकमा ठूलो बजार अभाव र लामो समयसम्म भण्डारणको व्यवस्था नभएर कुहिएर खेर जान सक्ने भन्दै किसानहरू चिन्तित छन् । समूहका सचिव बुढाले बारीबाट निकालिएको आलु कहाँ राख्ने चिन्ता रहेको बताउनुभयो । गाउँमा भण्डारण केन्द्र नरहेकाले घरमा सुरक्षित राख्न सक्ने अवस्था नरहेको भन्दै आलु खेर जाने जोखिम रहेको किसानहरूले बताएका छन् ।

एकै पटक धेरै आलु विक्री गर्न सक्ने अवस्था नरहेको तथा सोचेअनुसार मूल्य नपाइने गरेको किसानको गुनासो छ । बजार एवम् भण्डारण केन्द्र नहुँदा किसानहरू चिन्तित रहेको पुथाउत्तरगङ्गा गाउँपालिका कृषि शाखा प्रमुख ओमप्रकाश ओलीले जानकारी दिनुभयो । अघिल्लो वर्षका तुलनामा यस वर्ष आलु उत्पादन राम्रो देखिएको छ ओलीले भन्नुभयो । पछिल्लो वर्षमा उन्नत जातिको बीउ, समय समयमा कृषि प्राविधिकको परामर्शले आलुको उत्पादकत्व वृद्धि हुँदै आएको छ । १४ वटा वडा रहेको पुथाउत्तरगङ्गाका सबै वडामा आलु राम्रो फल्ने गरेको छ ।

पालिकाभर के कति उत्पादनको तथ्याङ्क तथा बजारसम्म पुर्‍याउने अवस्थाका लागि वडागत रूपमा कृषि प्राविधिकलाई खटाइएको ओलीले जानकारी दिनुभयो । उत्पादनको मात्रा विवरण आएपछि बजार व्यवस्थापनका लागि गाउँ कार्यपालिकामा जानकारी गराउने प्रमुख ओलीले बताउनुभयो । रासस