काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेतले चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि विरोध गरेको भनी आलोचना गरेका छन् ।
‘चितवनको टाँडी एरियामा जहाँ कमरेड प्रचण्डको क्षेत्र पर्छ । त्यहाँ ५ हजार सुकुम्बासीले जग्गा पाउँनेवाला थियो । उहाँलाई लाग्यो, माडी एरियाका ५ हजार सुकुम्बासीहरुले जग्गा पायो भने अब आउँदो चुनाव मेरो पत्तासाफ हुन्छ । यस्ता स्वार्थका कारणले आज सुकुम्बासीहरुमाथि दमन गरिँदैछ’ उनले भने ।
यस्तै स्वार्थ एमालेकै वरिष्ठ नेता माधव नेपालको पनि रहेको उनले बताए। ‘मनोहरा क्षेत्र जहाँ मेरो निर्वाचन क्षेत्र र कमरेड माधव नेपालको सनर्वाचन क्षेत्र पर्छ । त्यहाँ ७१२ घर छन । त्यहाँ सुकुम्बासीले जग्गा ओगटे भनेर निकै ठूलो टाउको दुखाइ थियो उहाँहरुको’ नेता बस्नेतले भने ।