देउवाको सम्बोधन सरकारको लाज छोप्ने अन्तिम हतियार : नेता बस्नेत

काठमाडौँ । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा संघीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र निष्क्रियता छोप्न प्रधानमन्त्री देउवाले सम्बोधनलाई उपयोग गरेको बताउनु भएको हो । अहिलेको सरकार प्रचण्ड पथमा हिँडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले लाज छोप्ने उक्त सम्बोधनलाई उपयोग गरेको बताउनु भएको छ ।

नेता बस्नेतले सर्वदलीय बैठकको नाउँमा ५ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन वैशाखमा नगर्ने षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ । उहाँले विधि, पद्धतिमा हिँड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा नरहेको प्रस्ट भएको उहाँले स्पष्ट पार्नुभएको छ ।

नेता बस्नेतले ओमिक्रोन भेरियन्ट फैलिँदा सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको र लाचार भएर बसेको समेत बताउनु भयो । अर्थतन्त्रका परिसूचक ओरालो लागेर राज्य नै फेलर स्टेट घोषणा होला भन्ने अवस्थाबाट गुज्रिरहेकोमा नेता बस्नेतले चिन्ता व्यक्त गर्नुभएको छ । अहिले सबै दलहरूको बीचमा उच्च तहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *