गठबन्धन सरकार लाचार छ, काम गर्ने दक्षता छैन ः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले सरकारबाट हटेपछि विकास निर्माणका अधिकांश योजना अलपत्र परेको बताउनुभएको छ ।

बुधबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको घ्याम्पेडाँडा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गर्दै बस्नेतले एमाले सरकारले सुरु गरेका सबै योजनाको सरकारले बजेट कटौती गरेको बताउनुभयो । सरकार परिवर्तन भएका कारण भइरहेका योजनाको काममा पनि ढिलाइ भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘यो सरकार लाचार छ, यसको काम गर्ने दक्षता छैन, सरकाले योजना कार्यान्वयन गर्न सकेको छैन, निर्माण व्यवसायीलाई काम गरेको रकम भुक्तानी गर्न सकेको छैन’, बस्नेतले भन्नुभयो ।

विकास, समृद्धि, राष्ट्रिय एकता, जनता बिच सद्भाव, धार्मिक सहिष्णुता नेकपा एमालेको संकल्प भएको बस्नेतले बताउनुभयो । नेकपा एमाले यो संकल्पका साथ अघि बढेकोले चुनावको हार जितले पार्टीलाई कुनै असर नपर्ने बस्नेतले बताउनुभयो । एमालेले बोकेको संकल्प, विचार र कार्यक्रम सही भएकोले कुनै बेला हारे पनि एमालेको जीत सुनिश्चित भएको बस्नेतले दाबी गर्नुभयो ।

एमाले विरुद्ध फिँजाएको भ्रम अब चिरिसकिएकोले कसैले भ्रम फिँजाउन आउने आँट नगर्ने उहाँले बताउनुभयो । यदि फेरी पनि कोही आए भने उनीहरूलाई सम्झाएर पठाउन उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।