सरकारको असफलताको कारण मुलुक अराजकता तर्फ : एकनाथ ढकाल

कन्चनपुर ! नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताउनु भएको छ। कन्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले संविधानको मूल मर्म अनुरुप देश अघि बढ्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै वर्तमान सरकारले आफ्नो औचित्य प्रुष्टि गर्न नसकेको जिकिर गर्नु भयो।

नेता ढकालले सिमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मुकदर्शक रहेको बताए। देश भित्रै रोजगारी सृजना गरेर युबाहरुलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रबैयाको कारण युबाहरु विदेशिने संख्या बढ्दै गएको उल्लेख गरे। नेता ढकालले अन्तराष्ट्रिय मंच हरुमा नेपालको उपस्थिति अत्यन्त कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाऊन कुनै पहलकदमी नलिएको प्रति चिन्ता ब्यक्त गर्नु भयो।

ढकालले देशमा नैतिकताको खडेरी परेको बताउदै असल आचरण र दुरदृस्टी भएका नेताहरुको पहिचान गरि समर्थन गर्न पनि आग्रह गर्नु भयो। प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले अब सदन र सडक दुवै ठाउबाट सरकारलाई थप सचेत बनाउने र नसच्चिय विकल्पको खोजि गर्नु पर्ने धारणा राखे। जनताको जीवन स्तरमा सुधार ल्याउन नसक्ने सरकारलाइ एक मिनेटपनि सत्तामा बस्ने नैतिक अधिकार हुदैन भन्दै अब पूर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाल देखि दक्षिण मधेश सम्मका जनता एकजुट भएर देश निर्माणमा जुट्नु पर्छ भन्नु भयो। उहाँले सामाजिक सद्भाव बिथोल्ने , नेपाली बीच फाटो ल्याउने तथा झुटो आश्वासन दिएर अराजकताको सृजना गर्ने तत्वहरुलाइ देश ब्यापी रुपमा बहिस्कार गर्नु पर्ने बताए। ढकालले नेपालको आर्थिक बिकासको लागि कृषिमा आधुनिकीकरण र पर्यटनको बिकासको गुरु योजना आबस्यक रहेको समेत बताए। ढकालले नेपाललाई आर्गानिक स्टेट को रुपमा विकास गरि सिंगो देशलाई एक सुन्दर प्राकृतिक म्युजियम र रिसोर्टको रुपमा विकास गर्न बृहतर राजनैतिक सहमति आबस्यक रहेको समेत धारणा ब्यक्त गर्नु भयो।

संबिधान सभामा दुइ सभासद रहेको नेपाल परिवार दल संबिधान जारि संगै नेकापा एमाले संगको सहकार्यमा छ र एमालेकै समर्थनमा दलका अध्यक्ष ढकाल बर्तमान संघिय संसद्को सदस्य छन्। ढकाल अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समितिको सदस्य हुन्।