राष्ट्रिय मान्यताप्राप्त दलको बैठक सिंहदरबारमा जारी : एमाले आफ्नो अडानबाट ब्याक नहुने

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा राष्ट्रिय मान्यताप्राप्त ७ दलका नेताहरू सहभागी छन्।

संसदको गतिरोध अन्त्य गर्न, विभिन्न विधेयक र देश तथा जनताका दैनिक समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले ७ दललाई बैठकमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।

त्यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी जनमत पार्टीकी सचिव अनितादेवी साह, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत पनि बैठकमा उपस्थित छन्।

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ। यता सरकारले बेवास्ता गर्दै सरकारी निकायबाटै छानबिन हुने भन्दै अडानमा बसेको छ। आजको बैठकमा पनि एमालेले आफ्नो अडान नछाड्ने बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *