काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नेकुरा गलत रहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताएका हुन्।
उनले नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्नअन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताए।
उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताए।
उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत उहाँलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले स्थगन गरेका छौँ। तर त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्नेकुराका सन्दर्भमा प्रश्न उठाउनुपर्ने विषय नै होइन। नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रुपमा नेकपा एमाले छ। चाहे नेपाली कांग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिष्ट पार्टीहरुका बारेमा। पुष्पकमल दाहाल प्रचण्डजी २०४५ सालदेखि लगातार प्रमुख नेतामा हुनुहुन्छ। हाम्रो पार्टीभित्र ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली हुनुहुन्छ। एकतातिर एक जना मात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव आउँदैन भन्ने होइन।’
महासचिव पोखरेलले विकास र समृद्धिको लागि नेकपा एमाले देशका लागि अपरिहार्य हो भन्नेकुरा प्रमाणित भएको बताए। उनले भारतले नयाँ संसद भवनमा राखेको नेपाली भूमि समेटिएको नक्साबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रश्तुत गर्ने बिडम्वना देखिएको बताए।