विराटनगरमा सोमबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा मञ्चबाट अध्यक्ष ज्ञानबहादुर गुरुङ, कोचिलातर्फबाट दिनेशचन्द्र राजवंशी, जागरण अभियानतर्फबाट दामोदर पाण्डे र उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टी एकीकरणका लागि हस्ताक्षर भएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठसँगै तीन पार्टीका पदाधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
कोशी प्रदेशअन्तर्गत प्रदेश सभाको पहिलो कार्यकालमा मञ्चको तर्फबाट एक प्रदेश सभा सदस्य रहेकी थिइन् । यद्यपि, हाल मञ्चभित्रको विवादसँगै अध्यक्ष कुमार लिङ्देनलाई कारबाही गर्दै नागरिक उन्मुक्ति पार्टीसँग समाहित भएको हो।

मञ्चमा देखिएको विवादसँगै वैशाख १० गते सम्पन्न बैठकबाट लिङ्देनलाई कारबाही गर्दै उपाध्यक्ष ज्ञानबहादुर गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको थियो।

पार्टी एकीकरणका क्रममा मञ्चका गुरुङसँगै महासचिव अशोक चेम्जोङ, प्रदेशका उपाध्यक्ष एबी तुम्बाहाङ, इन्दिरा मेन्यांग्बो र दिलकुमार लावती, महासचिव सेशोहाङ चोंगवांग र जिल्ला अध्यक्षहरू रहेका थिए।

पार्टी एकीकरणसँगै गुरुङले पहिचान पक्षधरको शक्ति बलियो बनाउन एक भएको बताए। गुरुङले उन्मुक्ति र मञ्चको एकीकरणले पहिचान पक्षधरको शक्ति बलियो हुन पुगेको जानकारी दिए।

नागरिक उन्मुक्तिसँग एकीकरण गरेको मञ्चको असन्तुष्ट पक्षले वैशाख १२ गते सम्पन्न बैठकबाट लिङ्देनलाई अध्यक्षबाट पदमुक्त गरेको जनाउँदै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ।

वैशाख १७ गते निर्वाचन आयोगमा दिइएको निवेदनमा कुमार लिङ्देनलाई पदच्युत गरेको र लिङ्देनको स्थानमा ज्ञानबहादुर गुरुङलाई अध्यक्ष बनाएको भनिएको छ।

यसअघि, धरानमा सम्पन्न तेस्रो महाधिवेशनपछि मञ्चभित्र विवाद उत्पन्न भएको थियो। अधिवेशनमा प्रतिनिधि नै नभएकालाई अध्यक्ष लिङ्देनले महिला उपाध्यक्ष बनाएको, आर्थिक पारदर्शिता नदेखाएको, विधान केन्द्रीय समितिबाट पास नगरेकोसमेत आरोप लागेको थियो। सो क्रममा चार महिनाअघि तत्कालीन अध्यक्ष लिङ्देनले ८ जनालाई कारबाही गरेका थिए।

पार्टी एकीकरण गर्ने विषयमा तत्कालीन अध्यक्ष कुमार लिङ्देनले नमानेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेर १० बुँदे सहमति गर्दै पार्टी एकीकरण गरिएको गुरुङले बताए।

नागरिक उन्मुक्ति पार्टीमा ६९ जनाको केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी बनाइने बताइएको छ। जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, महसचिव ३ जना, सचिव ७ जना र सहसचिव ३ जना रहनेछन्।