प्रचण्डसग पार्टी एकता गरेर कमजोरी भयो : शङ्कर पोखरेल

काठमाडौ !  नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु गल्ती भएको बताउनु भयो।

शनिबार दाङको घोराहीमा सहिद नेत्रलाल अभागीको शालिक अनावरण पछि सम्बोधन गर्दै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आधार बनाएर पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी भएको बताउनु भयो।

‘प्रचण्डकै कारण मुलुकमा अहिलेको अस्थिरता पैदा भएको हो,’ पोखरेलले भन्नुभयो, ‘आजको परिणामको प्रमुख कारक प्रचण्ड नै हुन्।’

प्रचण्डले माओवादीको युद्धकालीन नीति अझै नछोडेको,‘प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो,’ पोखरेलले भन्नुभयो, ‘आजको परिणाम त्यसै कुराको पुष्टि हो भन्ने मलाई लाग्छ।’

प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद, महत्वाकांक्षा जस्ता कुरा नै नेपालको राजनीतिको अस्थिरताको कारण भएको पोखरेलले बताउनु भयो।

नेकपा एउटै घोषणा-पत्र बनाएर निर्वाचनमा गएपछि जितेपछि माओवादीका अध्यक्ष प्रचण्डहरूले अर्कै कुरा गर्न थालेको र ‘जनतामाझ जाँदा एउटा र जितेपछि अर्कै कुरा,’ उहाले प्रश्न गर्नुभयो, ‘त्यो जनतामाथि गरिएको घात हो, जनताप्रति उत्तरदायी नहुनुको परिणाम हो।’

उहाले अहिलेको सरकार नीतिविहीन, दिशाविहीन रहेको भन्दै सरकारको भविष्य नरहेको जिकिर गर्नुभयो। ‘सरकार कि जनताको हुन्छ, कि जनताबाट निर्वाचित जनप्रतिनिधिको हुन्छ,’ पोखरेलले भन्नुभयो, ‘तर, यहाँ त अध्यादेशमार्फत सरकार बनेको छ। यो लोकतन्त्रको अपमान हो।’

पहिलोपटक प्रतिनिधिसभा पुनःस्थापनापछि विपक्षी दलहरूले वैकल्पिक सरकार दिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समयमा जनतामा जाने बाटो रोजेको उहाको तर्क थियो।

मुलुक मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पोखरेलले बताउनु भयो। ‘अन्तिममा जनतामाझ जानुको विकल्प छैन। निर्वाचनको विकल्प छैन,’ पाखेरेलले भन्नुभयो, ‘केपीले पनि त्यही भन्नुभएको थियो र अब शेरबहादुरजीले गर्ने पनि त्यही नै हो।’

त्यस्तै उहाले आफू नेतृत्वको प्रदेश सरकार स्वार्थ र अवसरवादका कारण ढलेको बताउनुभयो। तर उहाले जनताको मनमा आफूले राम्रो छाप छोडेको आशय व्यक्त गर्दै अब त्यो कसैले पनि भत्काउन नसक्ने दाबी गर्नुभयो।

‘प्रदेशमा हामीले बसालेको जग अब कसैले भत्काउन सक्नेवाला छैन,’ पखरेलले भन्नुभयो, ‘प्राविधिक रुपमा नेतृत्व खोसिएको भए पनि जनताको मनमा र विश्वासमा हामीहरूले नेतृत्व कायम गरिसकेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *