सम्मानजनक शक्ति बाँडफाँट भए जसपा सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जसपाको काठमाडौंमा सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो ।

जसपाका प्रवक्ता मनिस सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ ।

बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहनुभएको छ ।

त्यसैगरी बैठकले निर्वाचनमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ ।

निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने राजनीतिक समितिले निर्णय गरेको छ ।

यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *