एमाले नेता महेश बस्नेतको काङ्ग्रेसलाई सन्देश :भक्तपुरमा कांग्रेस इतिहासको पानामा सीमित भइसक्यो

काठमाडौं ! नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुरमा नेपाली कांग्रेस इतिहासको पानामा मात्र भेटिने बताएका छन् ।

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नम्बर २ ले दिपावली, नेपाल सम्बत् ११४२ तथा छट पर्वकाका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा देउसीभैली साँस्कृति कार्यक्रमा बोल्दै नेता बस्नेतले भने, ‘कांग्रेस कुनैबेला भक्तपुरको इतिहासमा थियो । अब भक्तपुरका जनताले कांग्रेसलाई इतिहासको पानामा पढ्ने हो । अब कांग्रेस भक्तपुरमा रहँदैन ।’

बस्नेतले भक्तपुरमा आएर कुनैपनि कांग्रेसका नेताले फूर्ति नलगाउन चेतावनी दिँदै भने, ‘कांग्रेस यहाँ कहिले प्रचण्ड त, कहिले माधव नेपालाई ल्याएर फूर्ति लगाउन खोज्दैछ । नेताज्यू भक्तपुरको यो पवित्र माटोमा आएर तपाईहरुले फूर्ति नलगाउनुस् ।’

आज भक्तपुरमा कांग्रेस नेता गगन थापा आएर कार्यक्रम गरेकोमा शुभकामना दिँदै बस्नेतले भक्तपुरका कांग्रेस पूर्वजले ध्वस्त बनाएको कांग्रेसलाई सुधार्न कसैले पनि नसक्ने बताए । उनले भने, ‘तपाईका पूर्वजहरु जगनाथ आचार्य, लेखनाथ न्यौपाने र रामेश्वर ढुंगेलहरुले ध्वस्त पारेको यो क्षेत्रमा कांग्रेसको संगठन कुनै माइकालाल आएर अब सुधार्न सक्दैनन् ।’

आफैभित्र लडेर शिथिल भएको कांग्रेसले एमालेलाई बढार्छु भन्नु हास्यास्पद भएको बताउँदै बस्नेतले वडा र नगरभित्रै एकआपसमा भीड्ने कांग्रेसले  स्वच्छ र निष्पक्ष ढंगले अगाडि बढिरहेको एमालेलाई फूर्ति लगाउन नसुहाउँने तर्क गरे ।

२०७४ सालको भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचनमा कांग्रेस उम्मेदवार बनेका दमननाथ ढुंगानाले नेपालको राजनीतिमा देखिएको विकृतिलाई बढार्न कुचो लिएर आएको बताएको प्रसङ्ग जोड्दै बस्नेतले नेपालको राजनीतिमा सबैभन्दा विकृति र विसंगति भित्र्याउने नेपाली कांग्रेस नै भएको बताए । उनले  भने, ‘कांग्रेसले राजनीतिलाई सफा गर्छु र एमालेलाई बढार्छु भन्नु चोरको हातमा भण्डारको चावी दिनु जस्तै हो । कांग्रेसले एमालेलाई बढार्छु भन्नु त्यस्तै हो । नेपाली जनताले कांग्रेसलाई कुचो दिने छैनन्, कुचो दिए पनि एमालेलाई दिनेछनन् । सफा गर्ने भण्डारको साँचो पनि एमालेलाई दिनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *