कैलाली – ५ प्रतिनिधि सभामा राना र राणा बीच नै महाभिडन्त पक्कापक्की

काठमाडौं ! आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट गत निर्वाचनका मुख्य प्रतिस्पर्धी नारदमुनी राना र आरजु राणा देउवा बिच भिडन्त हुने पक्कापक्की भएको छ। आज बसेको एमालेको प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी बैठकले एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानालाई नै पुनः त्यस् क्षेत्रबाट उम्मेदवार बनाउन एकल सिफारिस गरेको छ। नेता रानाको उक्त सिफारिस अब जिल्ला,प्रदेश हुँदै पार्टी केन्द्रमा जानेछ। उनको सर्वसम्मत एकल सिफारिस रहेकोले टिकटको लागि पक्कापक्की जस्तै छ। अझै त्यस क्षेत्रको स्थानीय उम्मेदवार र गत निर्वाचनमा पनि राणालाई भारी मतले हराएका कारणपनि रानाको विकल्प एमालेमा अरु हुनै सक्दैन।

यता काङ्ग्रेसले पनि काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई कैलाली-५ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि एकल सिफारिस गरेको छ। यद्यपि नेतृ राणालाई बाँके,बर्दिया,बाग्लुङ र डडेल्धुराबाट पनि नाम सिफारिस गरिएको छ। अन्य ठाउँमा पनि सिफारिस देखिएपनि राणा कैलाली-५ बाटै फेरि एमाले नेता रानासँग निर्वाचनमा भिड्ने जानकारहरु बताउँछन् । यो पटकको यस् भिडन्तमा दुबै उम्मेदवारहरु आफू जसरी पनि जित्ने दाउमा छन् । एमाले नेता राना कैलाली-५ का स्थानीय भएकाले र गत ५ बर्ष जनतासँगै हरेक सुखदुःखमा साथमै रहेकोले आफुले निर्वाचन जित्नेमा ढुक्क छन् । उता आरजुपनि आफूले यसपालि के-कसरी बाजि मार्न सकिन्छ,उक्त योजना र रणनीतिमा रहेको बताइन्छ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले नेता नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भएका थिए भने काङ्ग्रेस नेतृ राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *