जसपामा पहिरो : खोटाङ जिल्ला अध्यक्ष सहित ३९ जनाले पार्टी परित्याग

काठमाडौं ! खोटाङका जनता समाजवादी पार्टीका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, साङ्गठनिक र सैद्धान्तिक रूपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ जना नेताले जसपा परित्याग गरेका हुन् ।

अध्यक्ष थापाले सोमवार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष थापा, उपाध्यक्ष मणि राई, नवीनकिशोर राई, वसन्ती राई, सचिव जीवराज पोख्रेल, सह–सचिव आशिष राई र कोषाध्याक्ष सावित्री राईले जसपा छाड्नुभएको छ । यस्तै केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गीता श्रेष्ठले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

उनीहरूले समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानका लागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यमबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने प्रतिबद्धतासहित पार्टी परित्याग गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *