पाँचदलीय गठबन्धन देश लुटेर खाने मितबन्धन हो : सांसद न्यौपाने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले पाँच दलीय गठबन्धनलाई देश लुटेर–बाँडेर खाने मितबन्धनको संज्ञा दिनुभएको छ । बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानेले यस्तो बताउनुभएको हो ।

‘वास्तवमा यो पाँच दलीय गठबन्धन भन्दा पनि यो त देशलाई लुटेर, बाँडेर खाने मितबन्धन हो । किनभने यहाँ विचारको आधारमा गठबन्धन भएको छैन । अब मुलुक दुईदलीय व्यवस्थामा जानेछ कि भन्नेमा खुसी लागेको छ । तर आफूलाई कम्युनिस्ट पार्टी बताउने तीन पार्टीहरु त्यहाँ रहेर त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्दा कम्युनिस्ट नेताहरुप्रती दुख लागेको छ ।’ उहाँले भन्नुभयो ‘यो अनौठो र अचम्मको मितबन्धन परिवारका केही गिरोहहरुले कब्जा गरेर चलाइरहेका छन् । म कांग्रेसका नेता तथा कार्यकर्ताहरु कि त चरम दास हो कि चरम अवसरवादी हो ।’

उहाँले विचारको हिसाबले कांग्रेस र नेकपा माओवादीबीच प्रतिस्पर्धा रहँदै सत्रुबत व्यवहार हुँदा पनि बाँडेर खानका निम्ती चुनावमा तालमेल गरेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो ‘गठबन्धनभित्रको पनि परिवारको एउटा गिरोहले पार्टीलाई कब्जा बनाएर विचारलाई बली चढाउने जुन दुस्साहस गरिरहेको छ त्यो हामीले देखिरहेका छौँ । पद भागवन्डा गर्नका निम्ती विदेशी भूमीमा बसेर विदेशीलाई साक्षी राखिन्छ । विदेशीहरुलाई गुहार गरेर बनेको यो सरकारले राष्ट्रिय स्वाभिमानलाई गिराउने काम गरेको छ । यसअघि पटकपटक प्रधानमन्त्री भएपनि चुच्चे नक्सा चाही केपी ओलीकै पालामा आउनुपर्ने ?’

एसपीपीको पत्र सार्वजनिक नगरिनुमा त्यसलाई नाम परिवर्तन गरी सम्झौता हुन लागेकोभन्दै उहाँले आशंका समेत व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *