राज्य चलाउनेहरुले देशलाई निर्दलीय अभ्यासतिर धकेलिरहेका छन् : डा.भीम रावल

काठमाडौं । नेकपा (एमाले)का सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताए ।

उनले कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएपनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको बताए ।

सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे । सरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको आरोप लगाए ।

सांसद रावलले भने, ‘कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएको छ । तर हाम्रो देशमा के देखियो भने विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थाल्यो । उदाहरणको लागि निर्वाचनमा तालमेलको कुरा गरिएको छ, नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्नेछ । त्यसको लागि काम गर्नुपर्नेछ भन्ने लेखिएको छ । तर त्यसको खुलआम उल्लंघन गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *