सोमबार पक्राउ पुर्जी जारीपश्चात् प्रधानमन्त्री सरकारलाई विप्लवको चेतावनी- ‘हातमा दही जमाएर बस्दैनौँ’

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सोमबार प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा तीन बुँदे सहमति सरकारले पालना नगरे आफूहरु हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदै सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरुलाई दिन चाहन्छौँ ।’

यस्तै, पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकामा अडिग रहेको पनि विज्ञप्तिमा उल्लेख छ । साथै, तत्कालीन ओली सरकार र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

३ बुँदे सहमति भएको यतिका समय बित्दा पनि पार्टीका कार्यकर्ता रिहा नभएकोमा पार्टीले कडा आपत्ति जनाएको छ । र, यहिँ अवस्थामा पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *