बाग्मती प्रदेशमा मुख्यमन्त्री पाण्डे विरुद्ध कांग्रेस–माओवादीले संकलन गरे हस्ताक्षर

काठमाडौँ – पूर्व सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री छाड्न कांग्रेस–माओवादी केन्द्रले एकीकृत समाजवादीलाई दबाब दिएका छन्।
समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेलाई संसदको बाँकी कार्यकालमा आधा–आधा सरकारको नेतृत्व गर्ने गरी भएको सहमतिलाई कार्यान्वनय गर्न दबाब दिन हस्ताक्षर संकलन गरेका छन्।

गत कात्तिक ११ गते मुख्ममन्त्री नियुक्त भएका पाण्डेले ६ महिना नेतृत्व गरेपछि कांग्रेसका इन्द्र बानियाँलाई सत्ता हस्तान्तरण गर्ने लिखित सहमति गरेका थिए।
उक्त सहमतिलाई कार्यान्वन गर्न आफूले आग्रह गरे पनि पाण्डेले नमानेपछि हस्ताक्षर संकलन गरिएको बागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले जानकारी दिए।
‘जेण्टलमेण्ट एग्रिमेण्ट भएको हो। आधा–आधा समय सरकारको नेतृत्व गर्ने भने पनि उहाँले बढी समय लिइसक्नु भयो। हाम्रो कुरा उहाँले सौहार्दपूर्ण तरिकाले छाडिदिए हुन्थ्यो भन्ने हो,’ वैद्यले भने।
आग्रहलाई पाण्डेले बेवास्ता गरेपछि माओवादी र कांग्रेसका सांसदले हस्ताक्षर संकलन गरेको उनको भनाइ छ। वैद्यले भने, ‘हामीले हस्ताक्षर बुझाएको हैन, प्रेसर बढाउन गरेर राखेका छौँ। माओवादी पनि समाजवादीले सरकार छाड्नुपर्छ भन्ने पक्षमा छ।’
पाण्डेले भने आफू प्रदेश तहको सहमतिभन्दा पनि केन्द्रको सहमितअनुसार मुख्यमन्त्री बनेकाले माथिबाटै ठोस निर्देशन आउनुपर्ने बताउँदै आएका छन्।
पाण्डेको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने, ‘म माथिको सहमतिबाट मुख्यमन्त्री बनेको हो। माथिबाट के आउँछ, त्यहिअनुसार गर्छु। छाड् भन्यो भने छाड्न तयार छु। तर मलाई शीर्ष नेतृत्वबाट ठोस जवाफ आएको छैन।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *