स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले जितेको धरानको नगरसभामा एमालेकोे बहुमत

काठमाडौं– स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) मेयरका रूपमा चुनिएका धरान उपमहानगरपालिकाको नगर सभामा एमालेको बहुमत हुने देखिएको छ।
२० वटा वडा रहेको उपमहानगरपालिकाको नगरसभामा सम्पूर्ण वडाबाट मतदान गर्ने जनप्रतिनिधि १०२ जना छन्। तीमध्ये ५६ जनप्रतिनिधि एमालेका भएकाले नगरसभामा उसकाे बहुमत हुने देखिएको हो।

२०७४ मा मेयर र उपमेयरसहित १४ वटा वडा जित्दै एमालेले नगरसभामा झण्डै दुईतिहाई बहुमत पुर्‍याएको थियो। नगरसभामा १०२ जनामध्ये ७१ जना एमालेको थियो। त्यसैको आडमा कार्यपालिकामा पनि थप ८ जना एमालेकै उम्मेदवार विजयी भएर दुईतिहाई अर्थात् ३० जनामा २४ जना एमालेका कार्यपालिका सदस्य भए।
यसपटकको निर्वाचनमा एमाले आठ वटा वडामा मात्रै सीमित भएन, मेयर र उपमेयरसमेत गुमायो। नगरसभाका लागि प्रत्येक वडामा निर्वाचित वडाध्यक्ष, वडा सदस्य, खुला वडा सदस्य, महिला सदस्य र दलित सदस्य समावेश हुन्छन्।
समावेश भएका प्रतिनिधिहरूले नगरसभा गठन गर्छन्। त्यसपश्चात् मतदानमार्फत् दुई सदस्य थप हुन्छन्, जसलाई अल्पसंख्यक र दलित समुदायबाट चुनेर ल्याउनुपर्ने संविधानमा उल्लेख छ।
नगरसभाका प्रतिनिधि र उनीहरूले छानेका दुई प्रतिनिधिसहित नगरको कार्यपालिका गठन हुन्छ। धरान उपमहानगरपालिकामा एमालेका ५६ प्रतिनिधि विभिन्न वडामा निर्वाचित भएका कारण त्यहाँ एमालेको बहुमतमा नगरसभा निर्माण हुने देखिन्छ। धरानका कूल १०२ प्रतिनिधिमध्ये कांग्रेस र माओवादीका ४३ प्रतिनिधि छन् भने राप्रपा र स्वतन्त्रतर्फबाट १-१ उम्मेदवार छन्।
कार्यपालिकामा कसको होला बहुमत?
अहिले मेयर, उपमेयर र २० वटा वडाको मात्र निर्वाचन मतपरिणाम हेर्दा कार्यपालिकामा कसैको पनि बहुमत पुगेको छैन। कार्यपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षहरू हुन्छन्।

अहिले मेयर स्वतन्त्रवाट निर्वाचित भएका छन्। एमालेबाट ८ जना अध्यक्ष निवार्चित छन्। कांग्रेसबाट ६ जना वडाध्यक्ष छन् भने माओवादीबाट उपमेयर र एक जना वडाध्यक्ष छन् । एक जना वडाध्यक्ष राप्रपा र एक जना स्वतन्त्र छन्।
अब ८ जना कार्यपालिका सदस्यहरूको निर्वाचन भएपछि भने कार्यपालिकामा पनि कसको बहुमत पुग्छ भन्ने प्रष्ट देखिन्छ। ती ८ कार्यपालिका सदस्यहरूलाई नगरसभाले निवार्चित गर्ने र नगरसभामा एमालेको बहुमत भएकोले एमालेबाटै निवार्चित हुन सक्ने सम्भावना देखिन्छ। त्यसो हुँदा ३० जनाको कार्यपालिकामा एमालेको १८ जना भएमा बहुमत पुग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *