आरजु राणालाई नारदमुनि रानाको कटाक्ष : तपाईँको काम मान्छेको दलाली गर्ने हो?

धनगढी । नेकपा एमालेका नेता नारदमुनि रानाले कांग्रेस नेतृ आरजु राणा देउवालाई मान्छेको दलाली गर्ने गरेको आरोप लगाएका छन् । आज धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले विदेश पठाइदिने भन्दै मान्छेको दलाली गर्ने काममा तल्लीन रहेको आरोप लगाएका छन् ।

आरजु राणा देउवाले हिजो मात्रै कैलालीमा एउटा वडाबाट ५–६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन बाँडेकी थिइन् । उनले आफूलाई मलेसियामा फ्रि भिसा फ्रि टिकटको केही कोटा प्राप्त भएको उल्लेख गरेकी थिइन् । उक्त कोटामा त्यस वडाबाट ५-६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वासन छ ।

राणालाई नै हराएर प्रतिनिधि सभा सदस्य भएका रानाले त्यही प्रसङ्ग उल्लेख गर्दै राणालाई मान्छे बेच्ने गरेको आरोप लगाएका हुन् । ‘धनगढीको विकासको कुरा गर्छन् कि भनेर कुरा सुन्न गाएका थिए  ।

दूरपश्चिममा उद्योग, कलकारखाना, आर्थिक समृद्धि र प्रगतिको कुरा गर्छन् कि भनेर सुन्न गएका थिए’ रानाले भने, ‘तर तपाइहरूका छोराहरू छोरी हरू छन् भने विदेश जान चाहान्छ भने, म विदेश पठाइदिन्छु भन्दै उहाँ मान्छे बेच्ने , मान्छेको दलाली गर्ने काममा तल्लीन हुनुहुने रहेछ ।’

रानाले राणासँग भिजन नभएको समेत आरोप लगाए । उनले भने, ‘उहाँ सँग देश बनाउने  सपना रहेनछ । सुदूरपश्चिम बनाउने सपना रहिनछ । धनगढी बनाउने सपना रहिनछ । म मात्र होइन सिङ्गो सुदूरपश्चिम बासी निराश भएका छन् । ’

डडेल्धुरामा राणाले दिएको अभिव्यक्तिबारे पनि रानाले टिप्पणी गरेका थिए । राणाले डडेल्धुरमा आफ्नो घर भएको र कांग्रेसले हारेको ठाउँमा बजेट नदिने बताएकी थिइन् । ‘उहाँ डडेल्धुराको बासी हो रे । अनि कैलाली किन रोज्ने चुनावमा ?’  रानाले भने, ‘धनगढीका जनतालाई ढाँट्दै हिँड्नु भएको छ ।

जहाँ कांग्रेस हार्छ त्यहाँ पैसा दिन्नौ जहाँ कांग्रेस जित्छ त्यहाँ मात्रै पैसा दिन्छौँ  । नेपाल सरकारको ढुकुटी राजुको प्रोपटी होइन।’ उनले नेपाल सरकारको बजेट कुनै व्यक्तिले दिने वा नदिने भन्न नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *